CNIYEF

नेवानि र निजी क्षेत्रका चार राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौँ । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।

गत विहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संथाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षहरुबीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग सहकार्य र साझेदारी गर्ने गरी सम्झौता भएको हो ।

कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीकाले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गरे । मुलुकमा पढेका भनिएकाहरुले नाफा र घाटाको हिसाब मात्रै गर्ने गरेको तर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको कुनै ख्याल गर्ने नगरेको आरोप समेत लगाए ।

उनले भने, ‘देशमा धेरै पढेर डा.लेख्नेहरुले डेविट र क्रेडिटको मात्रै हिसाब गरे । तर राष्ट्रिय स्वाधीनता, स्वाभिमानको मूल्य डेविट र क्रेडिटमा मात्रै हुँदैन । नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्याउँछ ।’

नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भनेको भन्दै सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुमार्फत निगमलाई के आयो भन्नेकुरा हेर्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।

अध्यक्ष अधिकारीकाले देश नेपाल जस्तै बन्नुपर्ने तर जहाज अमेरिका जापानको जस्तो हुनुपर्छ भन्ने कुरा नमिल्ने बताए ।

उनले निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार गर भन्दैमा सुधार गर्न नसकिने बताए । उनले आफू निगममा अध्यक्ष भएर आएपछि कुनै पनि भ्रष्टाचारको काम नभएको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए ।

उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुखत कुरा भएको बताए ।

उनले नेपालका युवाहरुले सरकारसँग केही नचाहेको तर नेपालमा नै बसेर केही गर्नेसहज वातावरण सरकारले बनाइदिन आग्रह गरे ।