CNIYEF

युवाको बर्हिगमन नरोके मुलुकमा गम्भीर अवस्था आउन सक्छ

विराटनगर– युवाको बहिर्गमन नरोके मुलुकमा गम्भीर अवस्था निम्तिन सक्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । उनीहरूले बाहिर जाने सोंचमा रहेका युवालाई रोक्ने र विदेशिएकालाई फर्काउने नीति ल्याउन आवश्यक रहेको समेत बताएका हुन् ।

युवा उद्यमी मञ्च कोशीले आयोजना गरेको युवा उद्यमशिलता, युवाशक्ति तथा युवाका समस्या सम्बन्धमा परिसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा युवा उद्यमी अनमोल प्रधानले सरकारले लगानीको वातावरण बनाए युवाहरू विदेश नजाने प्रस्ट्याए । उनले भने, ‘युवाहरू रहरले देशबाट पलायन भइरहेका छैनन् । उनीहरूको बाध्यता छ । यदि राज्यले युवामैत्री नीति र वातावरण बनाए कोही पनि विदेश जाने छैनन् ।’

विकल्प एन अल्टरनेटिभका संस्थापक वसन्त अधिकारीले बितेको वर्ष नौ लाख बढी युवा विदेशिएको बताए । विदेशिएकामध्ये झण्डै आठ लाख रोजगारी र एक लाख बढी अध्ययनको नाममा अनुमति लिएर विदेशिएको उनको भनाइ थियो । उनले बितेको १५ वर्षमा विदेशिएका युवामध्ये १५ हजारको शव र गत वर्ष १५ सय युवाको शव फर्किएको जानकारी दिए ।

देशको आर्थिक अवस्थाका कारण युवाहरू विदेशिने क्रम बढ्दै गएको अधिकारीले बताए । ‘अब पनि सरकार र राजनैतिक दलहरू गम्भीर नभए देशको अवस्था भवावह हुनेतर्फ जाँदैछ,’ उनले थपे, ‘देश भनेको युवाले बनाउने हो । नेपालमा अब कोही पनि युवा बस्न चाहिरहेको छैन । उनीहरूलाई कसरी देशभित्रै राख्न सकिन्छ त्यसतर्फ सम्बन्धित निकाले सोच्नु जरुरी छ ।’

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले माध्यमिक तहसम्म शिक्षाका लागि नेपाल सरकारले एकजना बराबर एक लाख बढी लगानी गर्ने गरेको बताए । तर, देशले युवाहरूबाट प्रतिफल प्राप्त गर्ने बेलामा उनीहरू विदेशिने गरेको उनको भनाइ थियो । पोखरेलले शैक्षिक नीति र पाठ्यक्रममा समस्या रहेकै कारण युवाहरू विदेशिने गरेको धारणा राखे ।

‘मुलुकको कानुन र नीति नियम निर्माण पनि जनतासँग छलफल र समन्वय नगरी निर्माण गरिंदै आएकाले विभिन्न प्रकारका समस्या देखिने गरेका छन्,’ पोखरेलले भने, ‘सबैभन्दा पहिला शैक्षिक नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्छ । सीपमूलक शिक्षा र व्यावहारिक शिक्षा दिनुपर्छ । सैद्धान्तिक शिक्षामा मात्रै जोड दिँदा हाम्रा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै भएका छन् ।’

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले युवा पलायनको असर विश्वविद्यालय र शिक्षामा पनि परेको बताए । पछिल्लो समय युवामा प्लस टू पास गर्ने बित्तिकै विदेश जाने मोह देखिएको उनले सुनाए । ‘अब त नेपालमा ब्याचलर र स्नातकोत्तर पढाइ हुने क्याम्पस नै बन्द हुने अवस्थामा पुगेका छन्,’ उनले भने ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अस्थिर सरकारी नीतिका कारण व्यवसायी र स्वयं युवा पनि देशमा भविष्य नदेखेर विदेशिने गरेको धारणा राखे । उनले अब पनि समय रहँदै युवा फर्काउने नीति नल्याए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिए ।

‘हरेक दिन युवा विदेश पलायन हुँदा पनि सरकार गम्भीर भएको छैन,’ उनले थपे, ‘यस्तै हो भने केही वर्षभित्रै यो देशमा हामीले छोरा पुस्ता भेट्दैनौं । ज्येष्ठ नागरिक र १८ वर्षभन्दा मुनिका किशोरकिशोरी मात्रै भेट्छौं । उनीहरू पनि १८ वर्ष पुगेपछि नागरिकता र राहदानी बनाएर विदेश नै जाने हुन् ।